काठमाडौं । देशभर २२ हजार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको मृत्यु भएको हो ।
यस्तै, डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म ३ हजार ५ सय ९४ जना प्रभावित भएका छन् । यस्तै, कास्कीमा ३ हजार १ सय ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।