विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार छारेरोगबाट विश्वभर पाँच करोड मानिस प्रभावित छन् । जसकारण यो धेरैमा देखापर्ने रोग भन्न सकिन्छ । समयमै पहिचान भए छारेरोगको उपचार सम्भव छ । विडम्बना के छ भने अधिकांशलाई यसको लक्षण देख्दा पनि यो रोगको भेउ पाउँदैनन् ।
विश्व स्वस्थ संगठनका आनुसार विश्व मा १००० जाना मध्ये ४ देखि १० जनालाई छारे रोग हुन्छ जवकी हाम्रो जस्तो मुलुक मा १००० जना मध्ये ४ देखि १५ जनालाई यो रोग देखिन्छ । नेपालमा एक प्रतिशतभन्दा बढी जनसंख्या छारे रोगले पीडित छन् । मस्तिष्क सम्बन्धी रोगहरुमध्ये छारे रोग पनि एक हो ।
यो रोगमा बिरामी समय समयमा केही समयका लागि अचानक होस गुमाउँने र शरीरका भागहरु काम्ने हुन्छ । यस रोगमा मस्तिष्कका स्नायु कोषहरुबाट अचानक अत्यधिक मात्रामा विद्युतिय तरङ्ग प्रवाहित भएको हुन्छ ।
वास्तवमा यो “Epilepsy” शब्द ग्रीक भाषाको “epi” र “leptos” बाट आएको हो जसको अर्थ “बेस्सरी समात्नु” भन्ने हुन्छ । छारे रोगलाई बाख्रे रोग, मृगी वा चरिफाई पनि भनिन्छ । यो एउटा दीर्घकालिन रोग हो । छारे रोग मानसिक रोग होइन । छारे रोग एक प्रकारको Neurological disorder हो । यसमा विभिन्न किसिमका लक्षणहरु देखिन्छ ।
लक्षणहरु
बिरामी समय समयमा केही समयको लागि बेहोस हुने, बेहोस हुनु भन्दा अगाडि अचानक डर लागेको गन्ध वा आँखाका अगाडि विभिन्न प्रकारका रङ्गीन गोलाहरु महशुस हुने
हात खुट्टा काम्ने, मुखबाट ¥याल भरिएर फिज निकाल्ने हुनुको साथै जिब्रो काट्ने हुन्छ ।
एक्कासि अचेत भइ भुइँमा लड्दा कहिलेकाही थाहा नपाउँदै दिसा–पिसाब पनि छुट्न सक्दछ
आँखा पल्टाउने तथा आँखाको नानी ठूलो हुने र Plantar माथि तिर जाने हुन्छ ।
कहिलेकाँही शरीरको कुनै अङ्गको पक्षघात पनि हुन सक्दछ । यस्तो अवस्था केही मिनेट देखि केही घण्टासम्म रहन्छ ।
यो प्राय: गरेर हप्ता, पन्ध्र दिन, एक महिना वा दुइ/तीन महिनामा हुन्छ । तर कसै कसैलाई दैनिक वा एक दुइ वर्ष बिराएर छोप्ने पनि हुन्छ ।
यो रोग जुनसुकै उमेरका महिला तथा पुरुषलाई लाग्न सक्छ । तापनि धेरै जसो केटाकेटी उमेरमा शुरु हुन्छ । आम जनसंख्यामा झन्डै एक प्रतिशत व्यक्तिहरु यो रोगबाट पीडित भएका हुन्छन् ।
कारणहरु
धेरै जसो छारे रोग हुनुको पछाडि के कस्ता कारणहरु छन्, त्यो विभिन्न परिक्षणहरु गर्दा पनि कुनै कारण वा खराबी भेटिदैन । तर छारे रोग पनि अरु रोग सरह नै शरीर भित्र खरावी भएको कारणले गर्दा हुन्छ । विभिन्न कारणले मस्तिष्कमा असर पारेपछि यो रोग निस्कन्छ । वास्तवमा धेरैजसो बिरामीहरु यस प्रकारका हुन्छन् ।
यसलाई Idiopathic epilepsy or Epilepsy of unknown causes भनिन्छ । विभिन्न वैज्ञानिकहरुले यसका कारणका सम्बन्धमा धेरै प्रकारका मत व्यक्त गरेका छन् । ती मध्ये वंशाणुगत पनि मुख्य कारण मानिएको छ । अरु कारणहरु निम्न प्रकारका छन् : –
बच्चा जन्मदा टाउकोमा चोट लागेर
मस्तिष्कमा संक्रमण जस्तैः– मेनिनजाइटिस, इनसेफालाइटिस आदि रोगको कारणले
विभिन्न कारणले टाउकोमा चोट लागेर (Head Injury)
मस्तिष्कको ट्युमर तथा मस्तिष्कमा रक्तश्राव भएर (Brain tumor and Cerebral stroke)
नाम्ले जुका (Tape worm) को अण्डा मस्तिष्कमा संक्रमण हुँदा (Neurocysticercoss )
अत्यधिक मद्यपान सेवनले गर्दा
शारीरिक तथा मानसिक तनाव
मस्तिष्कलाई असर पार्ने कुनै पनि कारण, जस्तै लामो अवधि सम्म कडा कमलपित्त तथा कडा खालको मिर्गौलाको रोग आदि ।
यस्तो रोग जुन सुकै समयमा, निदाएको या सुतेको बेलामा पनि हुन सक्छ । साथै जुनसुनै स्थान जस्तैः बाटो, स्कूल तथा कार्यालय आदिमा पनि हुन सक्छ ।
यो मानिस भएकै समय वा नभएको समयमा पनि हुन सक्छ र प्राय जसो कम्पन एकै नासको हुन्छ । प्रत्येक छोपाइ पहिलाको जस्तै या एकै किसिमको हुन्छ, जसले गर्दा समयमै उपचार नभएमा महिनौं देखि वर्षौं सम्म रहन सक्छ ।
उपचार
छारे रोग के कारणले भएको हो सो कुरा पत्ता लगाउनुपर्छ । कुनै कुनै छारे रोगको कारण पत्ता लगाउन सकिदैन । छारे रोगको उपचार समयमा नै भएमा निको हुन सक्छ । यसको लागि उपचार सरल र सस्तो छ । तापनि निम्न कुराहरु अपनाउन सकिन्छ ।
बिरामी बेहोस भएको समयमा तुरुन्तै सफा, समतल तथा हावा आउने ठाउँमा राख्नुपर्छ ।
विरामीको श्वास नलीमा कुनै गतिरोध पैदा नहोस् भनेर कमिजको कलर बन्द भए खुकुलो गरिदिनुपर्छ
बिरामीको मुख भित्र केही चीज छ भने निकाली दिने, जिब्रो नटोकियोस भन्नाका लागि माथि र तल दाँतको बीचमा एउटा कपडाले बेरेको सानो टुक्रा काठ राखी दिनुपर्छ ।
यसको उपचार निरन्तर र लामो समय सम्म हुन्छ ।
यो रोगको उपचार स्वास्थ्य चौकीमा पनि हुने भएकोले डाक्टरको सल्लाह अनुसार औषधीको सेवन गर्नुपर्दछ । साथै डाक्टरको सल्लाह विना बीचमा नै उपचार रोक्नु हुदैन ।
बिरामीलाई सजिलोसँग टाउको अलिक होचो पारेर सिरानी नराखी कोल्टो पारेर सुताइदिनु पर्दछ । एक छिनमा बिरामी आफै होसमा आउँछ । तर होसमा नआई पटक पटक धेरै समयसम्म छोप्ने भइरहेमा तुरुन्तै अस्पतालमा लैजानु पर्छ ।
यो रोग जुनसुकै समयमा हुन सक्ने हुँदा यसको उपचार समयमा गराउनु पर्दछ ।
छारे रोग सम्बन्धि गलत धारणाहरु
हाम्रो समाजमा छारे रोग सम्बन्धि धेरै गलत धारणाहरु छन् जसले गर्दा यो रोगबाट पीडित व्यक्तिले अनाहकमा दुःख पाउँछन् ।
छारे रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन, बस्दा या जुठो खाँदा अर्को व्यक्तिलाई कुनै असर गर्दैन ।
यो रोग दैवी शक्ति, भूतपे्रत, बोक्सी आदिको कारणले नहुने हुँदा फुक्ने, बुटी बाध्ने, पुजा गर्ने आदि कार्यबाट निको हुदैन ।
छोपेको बेलामा विरामीको श्वास तथा विरामीको थुक, ¥याल लागे पनि यो सर्दैन ।
यो रोगले छोपिरहेको बेलामा पानी छ्याप्ने, जुत्ता सुघाउँने जस्ता कामहरु गर्नु हुदैन ।
छोपिएरहेको बेला जबरजस्ती दाँतको बीचमा कुनै कडा चीज वा औंला घुसाउनु हुदैन ।
याद राख्नु पर्ने कुराहरु
नियमित औषधी सेवन गर्नुका साथै विरामीले निम्न नियमहरुको पालना गर्नुपर्दछ ।
यस्तो रोग लागेको व्यक्तिले कुनै पनि नशालु पदार्थ सेवन गर्नु हुदैन । गाँजा, मदिरा, भाङ्ग जस्ता वस्तुहरुले मस्तिष्कमा प्रत्यक्ष असर पार्ने हुँदा रोग निको हुन पाउँदैन । रोग निको भइ डाक्टरको सल्लाहले औषधी छाडिसकेपछि पनि नशालु पदार्थ सेवन गर्नु हुदैन ।
कुनै पनि बेला र ठाउँमा रोग निस्कन सक्ने हुनाले छारे रोगका विरामीले आगो, पानी, छागो, भीर, उचाइ र मेसिनरी चीज देखि सर्तक रहनु पर्दछ । शुरुको अवस्थामा यस्ता चीजबाट टाढै रहनु बेस हुन्छ ।
शरीरमा कम्पन भएको बेलामा बल प्रयोग गरेर रोक्ने प्रयास गर्नु हुदैन ।
वेहोस भएको बेलामा मुखमा पानी हाल्नु हुदैन ।
छारे रोगका विरामीले भोको बस्ने या निन्द्रा मिच्ने गर्नु हुँदैन र समयमा खाने, सुत्ने गर्नुपर्दछ ।
यस्तै केही सिमित कुराहरु बाहेक छारे रोगका विरामीहरुले अरु सरह स्वभाविक जीवन बिताउन सक्छन् । अध्ययन गर्न, प्रायः जुनसुकै पेसा अपनाउन, पारिवारिक जीवन शुरु गर्न कुनै रोकटोक नहुने हुनाले समाजमा अरु व्यक्ति सरह प्रतिष्ठित जीवन बिताउन सक्छन्।