काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङो ब्रेक थ्रु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको फास्ट ट्रयाकको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ (छिचोल्ने) घाेषणा गरेका हुन्।
मकवानपुरको बकैया गाउँपालिकामा पर्ने धेद्रेको काठमाडौंबाट निजगढतर्फ जाने लेन सोमबार प्रधानमन्त्री ओलीको उपस्थितिमा ब्रेक थ्रु भएको नेपाली सेनाले जनाएको छ।
आज ब्रेक थ्रु भएसँगै फास्ट ट्रयाकमा २ वटा सुरुङ दुवै लेनमा ब्रेक थ्रु भएका छन्। धेद्रेकै निजगढबाट काठमाडौं आउने लेन २०८१ जेठ ११ मा ब्रेक थ्रु भइसकेको छ। जेठमा ब्रेक थ्रु भएको लेनको लम्बाइ १.६५३ किलोमिटर छ भने आज ब्रेक थ्रु भएको काठमाडौंबाट निजगढ जाने लेन १.७२८ किलोमिटर लम्बाइको छ।
यसअघि २०८१ असार २० मा लेनडाँडा सुरुङको निजगढबाट काठमाडौं आउने १.६१२ किलोमिटर र २०८१ जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने १.६३३ किलोमिटर लम्बाइमा दुई लेन ब्रेक थ्रु भइसकेको छ। आज अर्को लेन ब्रेक थ्रु भएसँगै फाष्ट ट्रयाकको प्याकेज २ मा पर्ने दुवै सुरुङ पूर्ण रुपमा ब्रेक थ्रु भएका छन्।
७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा ६ वटा सुरुङ बन्नेछन्। यद्यपि एउटा सुरुङका दुइ लेनबीच जमिनको भाग हुने भएकाले एउटै सुरुङमा दुई पटक ब्रेक थ्रु गर्नुपरेको सेनाले जनाएको छ।
तस्बिरः नेपाली सेना