एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अब युद्ध अन्त्य गर्ने समय आएको बताएका छन्। गाजापट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका ६ बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको उनको भनाइ छ।
गाजामा युद्ध अन्त्यका लागि आफूहरूले अहोरात्र खटिरहेको उनले बताए। राष्ट्रपति बाइडेनले बन्धकको हत्या गरिनु ‘निन्दनीय’ भएको र यस घटनाले आफूलाई स्तब्ध पारेको बताए। ‘हमासका नेताहरूले यी अपराधको मूल्य चुकाउनेछन्,’ उनले भने।
उनले अगाडि भने, ‘अब युद्ध अन्त्य गर्ने वेला भएको छ । प्यालेस्टिनी समूहले बन्धक बनाएका बाँकी बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न अहोरात्र काम भइरहेको छ ।’
बाइडेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हमासका आतंककारीले मारेका बन्धकमध्ये एक अमेरिकी नागरिक हर्स गोल्डबर्ग–पोलिन रहेको हामीले पुष्टि गरेका छौँ ।’
इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले दक्षिणी गाजाको रफाहबाट बरामद भएका ६ वटा शव हमासले आइडिएफ सेना आउनुभन्दा केही समयअघि नै ‘निर्मम हत्या’ गरेका इजरायली बन्धकको भएको बताएको छ।
यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले एक वक्तव्य जारी गर्दै हमासलाई ‘निर्मूल पार्नुपर्ने’ र गाजालाई नियन्त्रण गर्न दिन नसकिने बताएकी छन्।