काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा शुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ । आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।
गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ । गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ । केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ ।
पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिंगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।
शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा, फाग, धमारी चाचरी, सगुना,देउडा लगायातका गीत÷गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ । बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरेको गौरामै विद्यावारिधि गरेका बासुदेव जोशीले बताए ।