काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरूबिच हातेमालो गर्न जरुरी रहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै विष्टले लोकतन्त्र नचाहने शक्तिहरूले पूर्व राजा फर्काउने प्रयास भइरहेको भन्दै लोकतन्त्र पक्षधरबिच सहकार्य र हातेमालो गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘विरोध गर्ने अधिकार र चेत पनि लोकतन्त्रबाटै प्राप्त भएको छ । लोकतन्त्रभित्रै लोकतन्त्रको विरोध गर्ने प्रवृत्ति पनि देखा परेका छन् । लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरू गम्भीरतासाथ हातेमालो गर्न जरुरी छ ।’
विष्टले लोकतन्त्रकै कारण जनता सार्वभौम भएको भन्दै लोकतन्त्रविना जनता स्वतन्त्र र आत्मसम्मान प्राप्त भएको बताए ।
‘तर आज यो कुरालाई देख्न नचाहने कतिपय शक्तिहरूले पूर्वराजालाई फर्काउने कोसिस गरेका छन्, आऊ भन्ने अपिल गरेका छन्’, विष्टले भने, ‘पूर्वराजाले पनि फेरि राजा बन्ने चाहना व्यक्त गरेका छन् ।’
उनले सडकमा त्यसप्रकारका अभिव्यक्ति देखा परेको भन्दै विगतमा बहुदलवादी पार्टी र राजावादीबिच भएका सहमतिहरू राजावाटै उल्लङ्घन भएको बताए । त्यही उल्लंघनका कारण पछिल्लो पटक गणतन्त्र आएको पनि बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सरकारका कारण चौतर्फी निराशा छाएको भन्ने अभिव्यक्तिको खण्डन समेत गरे ।
‘उहाँले गणतन्त्रप्राप्ति पछि पटक पटक सरकारको नेतृत्व गर्नुभएको छ । यति राम्रा काम भएका छन् जस लिनुपर्छ, कमजोरी भएका छन् जिम्मेवारी पनि लिनुपर्छ’, उनले भने, ‘कतै यस प्रकारका अभिव्यक्तिले संविधानको उल्लङ्घन गर्न चाहने शक्तिहरूलाई प्रश्रय त गरिरहेको छैन ?’