काठमाडौं । काठमाडौं उपत्यकासहित वाग्मती, कोशी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक पुगेको छ ।
त्यस्तै हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मती प्रदेशका एक-दुई स्थानमा आज दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
कोशी र वाग्मतीमा भारी वर्षाको सम्भावनाले गर्दा गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।