काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताए ।
उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बताए ।
त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने बताए । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ ।
उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए । उनले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए ।