काठमाडौं । काठमाडौं कीर्तिपुरका ५० वर्षीय विनोद खड्गीको ‘हनी ट्रयाप’मा पारेर हत्या गरिएको खुलासा भएको छ ।
खड्गीको शव असोज ६ गते काभ्रेको पाँचखाल नगरपालिका–८ को ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानले विनोदको हत्या भक्तपुरमा भएको र पाँचखाल ल्याएर शव फालिएको खुलेको छ ।
खड्गीको अपहरण र हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं शंकरापुर नगरपालिका–५ बस्ने वर्ष २२ का सरिन घिमिरे, महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६ घर भइ हाल भक्तपुरको कौशलटार बस्ने वर्ष २० का आशिष पासवान, शंखरापुर नगरपालिका–५ बस्ने वर्ष २१ का रिकेश पौडेल र बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ घर भइ हाल काठमाडौं, कोटेश्वरस्थित महादेवस्थान बस्ने वर्ष १९ का प्रतिक गौतम छन् । उनीहरूलाई काभ्रे जिल्ला अदालतमा पटक–पटक गरी १७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
हत्यामा संलग्न ३ जना भारतीय नागरिक फरार रहेको प्रहरीको भनाइ छ । खड्गीको हत्याको मुख्य योजनाकार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएकी २१ वर्षीय मनिषा महत रहेको अनुसन्धानमा खुलेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ मा डेरा लिएर बस्ने मनिषाले सोही स्थानमा खड्गीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।