काठमाडौं । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा भएको पहिरोमा गरेर उनीहरूको ज्यान गएको हो । मृत्यु हुने चार जना नेपाली मजदुर मध्ये तीन जना चितवनका माडी घर भएका खुलेको छ ।
माडीका नगरप्रमुख ताराकुमारी काजी महतोका अनुसार मृत्यु भएका मध्ये ३ जना मजदुर माडी २ सितलपुरका ५८ वर्षका तुलबहादुर परियार, माडी-१ भङ्गहाका २६ वर्षका कृष्णबहादुर परियार र माडी ५ छर्छरे घर भएका २८ वर्षका पूर्णबहादुर नेपाली रहेका छन् ।
उनीहरु तीनै जना सडक मजदुरको रुपमा काम गर्न भारत आउनेजाने गर्थे । पहिरोमा परेका तुलबहादुर परियारका दाजु बाबुराम परियारले सडक बनाउने मजदुरी गर्ने काममा भाइ भारत गएका जानकारी दिए । उनका अनुसार सडक छेउमा त्रिपाल टाँगेर सुतेका चारै जना मजदुरलाई राती ११ बजे आएको पहिरोले पुरेको हो ।