काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय इनिङ खेले । अनिलले अविजित ६२ रन जोडे । अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।
कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो ।
अर्जुनले २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे । अलराउण्डर गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाएका हुन् । शिखर धवनले १४ बलमा १४ रन बनाए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए । किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान १-१ विकेट लिए ।