काठमाडौं । नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वर्ल्ड कपबीच कबड्डी च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने भएको छ । आगामी सेप्टेम्बर २५ देखि ३० तारिखसम्म आयोजना हुने पहिलो संस्करणको वर्ल्ड कपबीच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रस्तुत गर्ने भएको हो ।
अखिल नेपाल कबड्डी संघले आईतवार एक कार्यक्रम आयोजना गर्दै वर्ल्ड कपबीच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमकाबीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले बिदाइ गरे ।
सो अवसरमा सदस्यसचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको इतिहास रहेको बताए । साथै उनले अलि लामो तयारी, मिहिनत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औंल्याए ।
यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दैछन् । भारतले पनि यसै च्याम्पियनसिपमा खेल्ने तयारी गरेको थियो । तर अन्तर्राष्ट्रिय कबड्डी फेडेरेसनले भारतीय एमेच्योर कबड्डी फेडेरेसनमाथि प्रतिवन्ध लगाएपछि इरानमा भारतको चुनौती नहुने भएको हो ।
यसै प्रतियोगिता लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो । यसै च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भैसकेको छ ।
विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रन्जित गजमेर, पदमबहादुर बिष्ट, गणेश कार्की, रामु टमटा र नीरज चन्द छन् । टिम व्यवस्थापकमा शरद दर्शन धारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिए ।
न्युज एजेन्सी नेपाल