काठमाडौं । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले पेश गरेको सो प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतले पारित भएको हो।
यसैगरी, मन्त्री अधिकारीले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसहित) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश गरेका थिए।
सो अवसरमा मन्त्री अधिकारीले प्रदेश सरकार बनेको समयदेखि नै जनताको चाहना र आवश्यकतामा विशेष ध्यान दिएको बताए। उनले प्रदेशमा हालै आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकार राहत, उद्धार एवं खोजमा निकै क्रियाशील भएर काम गरेको बताए।