काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने सपना कसैले नदेखे हुने बताएका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय कार्यशालालाई बिहीबार च्यासलमा सम्बोधन गर्दै उनले ‘झिँगाको सरापले डिंगा’ नमर्ने टिप्पणी गरे ।
‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे’, ओलीले भने, ‘एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर । भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने । के भनेनन् !’
एमालेको अस्तित्व समाप्त पार्न अनेक प्रयास भए पनि अहिले सरकारकै नेतृत्व एमालेले गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई कमजोर पार्न खोज्नेहरूको प्रयासलाई जनताले अस्वीकृत गरिदिएको दाबी गरे ।
‘केपी ओली, को केपी ओली, कोको, को केपी ओली ? यति बिर्सिने भइसके क्या । यस्तै बिर्सिएको राम्रो । केही छैन । अब को केपी ओली भन्ने कुरा म बताउन्नँ’, प्रधानमन्त्री ओलीले भने, ‘मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो । इमान्दारिताका साथ काम गर्छ । तर, झिँगाले सरापेर डिंगा मर्ने भए । झिँगाले सराप्दा डिंगा मर्दैन भन्ने भनाइ छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरेका थिए । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन गर्दै भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने बताए ।
कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरुको उपस्थिति थियो ।