काठमाडौं । विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
ओलीविरुद्ध कानुन व्यवसायी युवराज सफलले बिहीबार बिहान अख्तियारमा उजुरी दिएका हुन्। उनले ओलीविरुद्ध छानबिनको माग गरेका छन्।
अख्तियारमा उनले दिएको निवेदनमा भनिएको छ, ‘विवादास्पद व्यापारी, सरकारी जग्गा हिनामिना एवम् जालसाझी मुद्धामासमेत दोषी ठहर भएका भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङबाट मिति २०८१ असोज २५ गतेका दिन नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएको र सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीसमेत सरिक भएको भनी विभिन्न संचारमाध्यमहरुबाट सप्रमाण सम्प्रेषण भएका समाचारहरुप्रति म नेपाली नागरिक युवराज सफलको गम्भीर ध्यानाकर्षण भएको छ।‘