काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण मागेको छ । मन्त्रालयले सोमबार घिसिङलाई पदीय मर्यादा विपरीत कार्य गरेको र असहयोगी भूमिका खेलेको भन्दै सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न पत्राचार गरेको हो ।
यस्ता छन् घिसिङमाथि लगाएका आरोप
– प्राधिकरणका सञ्चालक समितिका बैठकहरुमा सरकारी निकायको कार्यकारी प्रमुख हैसियत भुलेर पटकपटक असहयोगी भूमिका खेल्ने गरेको ।
– सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको ।
– पदीय मर्यादा विपरित कार्य गरेको ।
– कार्य सम्पादन सम्झौता अनुरुपको कार्य सम्पादन मुलांकनसम्बन्धी विवरण पेश नगरेको ।
– मन्त्रालयले माग गरेको ट्रान्सफर्मर खरिद अनियमितता सम्बन्धमा १५ बुँदे विवरण समयमा उपलब्ध नगराएको, ढिला उपलब्ध गराए पनि अपुरो र मागभन्दा बाहिर गई गोलमटोल जवाफ दिएको ।
– मन्त्रालयले १३ कार्तिकमा ६ बुँदे विवरण माग गरेकोमा बस्तुनिष्ठ र यथार्थपरक जवाफ नपठाएको ।
– डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशन बमोजिम गठन भएको प्राविधिक जाँच समितिलाई सहयोग उपलब्ध गराउने एजेन्डामा नोट अफ डिसेन्ट लेखेको ।