काठमाडौं । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा घाइते क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
शाक्यको टाउको, आँखा, निधार लगायत शरीरका अन्य भागमा चोट लागेको अस्पतालले जनाएको छ । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा छन्।
बुधबार विहान ११ बजेर ११ मिनेटमा विमान उड्नासाथ दुर्घटनामा परेको थियो । दाहिनेतर्फ मोडिएको विमान कन्टेनरमा ठोक्किएर गोठाटारतर्फको खाली भागमा खसेको थियो ।
विमानमा सवार १८ जनाको मृत्यु भएको दुर्घटनामा पाइलट बाँचेका छन्। क्याप्टेन शाक्यका परिवारका सदस्यहरु अस्पतालमा रहेका छन् र शाक्य उनीहरुसँग बोलिरहेको अस्पतालले जनाएको छ । उनको अवस्थामा सुधार आइरहेको जनाइएको छ ।
उनी अनुभवी पाइलट हुन् । उनले सन् २००९ देखि विमान उडाइरहेका छन् । गुणबाट उडान थालेका उनी सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् ।