चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आद्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिँउदा शरिर सुख्खा हुँदै जाने गर्दछ । चिसोको समयमा आँखा सुख्खा बढी हुन्छ । चिसो मौसममा भाइरसको सक्रियता बढी हुन्छ ।
शरिररको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण भाइरल कन्जन्टिभाइटिस ईन्फेक्सन हुन्छ । जसलाई आँई फ्लू भनिन्छ । आईँ फ्लूलाई सरुवा रोग पनि भनिन्छ । उक्त रोग एक आँखाबाट अर्को आँखामा बढी मात्रामा सर्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ ।
यसैगरी, चिसो मौसममा सिजनल एलर्जी (आईँ एलर्जी) आँखा रातो हुने, चिलाउने, विजाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिलहरु सुनिने र कडा किसिमको चिप्रा आउने समेत हुन्छ । चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुँदा (कम्युटर भिजन सिन्ड्रम) देखिन्छ । जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ ।
चिसो मौसममा मोतिविन्दुका विरामी बढी अस्पताल आउने गरेका छन् । चिसोमा अप्रेसन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वासका कारण योबेला डाक्टरकोमा मोतिविन्दुका विरामी बढी आउँछन् । चिसोले गर्दा मोतिविन्दूका विरामी बढी हुन्छ भन्ने होइन । हिमपात हुने क्षेत्रमा चिसो मौसमका बेला आँखाको नानीमा घाउ हुनसक्ने आँखा दुख्ने, आँसु बढी आउने देखिन्छ ।
यसलाई फोटोकेराटाइटिस भनिन्छ । यो भनेको सूर्यको किरण हिमपातमा ठोकिएर आँखामा रिफ्फ्लेट हुने भएकाले आँखामा यो समस्या ल्याउन सक्छ । योबाट बच्नका लागि हिमाली क्षेत्रमा जाडो मौसममा एन्टि रिफ्लेक्टिभ वा पोलारोईड ग्लासेस लगाउन आवश्यक छ ।
सुख्खा आँखाबाट बच्नका लागि सकेसम्म चिसो मौसममा घर बाहिर ननिस्किँदा राम्रो हुन्छ । यदी, निस्कनै परेमा आँखामा रक्षाका लागि उचित किसिम र साइजको चश्मा लगाउन उपयुक्त हुन्छ । आँखा धेरै नै सुख्खा भएमा डाक्टरको सल्लाहअनुसार झोल औषधी (आर्टिफिसिय टियर्स) प्रयोग गर्न सकिन्छ । त्यसभन्दा बाहेक घरभित्र बस्दापनि धेरै समय सुख्खा हिटरको प्रयोग नगर्ने, हिटर वा आगोको नजिक नजाने, सुख्खा आगो वा सुख्खा हिटर पानीको प्रयोग सँगै गर्ने गर्नुपर्छ । यसका अलावा रुमलाई वाष्पिकरण गर्दा राम्रो हुन्छ ।
आई फुलुबाट बच्नका लागि धेरै भीडभाडमा नजाने, समय समयमा साबुन पानीले हात धोइराख्ने, हातलाई आँखामा नलैजाने गर्नुपर्छ । त्यति गर्दागर्दै पनि समस्या देखिएमा डाक्टरसँग सल्लाह गरेर आवश्यक उपचार लिन सकिन्छ ।
सिजनल एलर्जीले बच्चालाई बढी असर गर्ने गरेको देखिन्छ । त्यसैले सकेसम्म बच्चालाई चिसोमा लिएर नजाने, तातो पारेर राख्ने, एलर्जीको समस्या देखिहालेमा दक्ष चिकित्सकसँग सल्लाह गरी उपयुक्त उपचार गर्नुपर्ने हुन्छ ।
कम्युटर भिजन सिन्ड्रम हुँदा कम्युटर धेरै नचलाउने र चलाउनै परेमा २०÷२०÷२० नियम पालन गर्ने गर्नुपर्छ । उक्त नियम भनेको २० मीनेट मोबाइल वा कम्युटर चलाएपछि २० सेकेण्डको लागि कम्युटरबाट उठेर २० फिट टाढाको वस्तु हेर्ने हो । सँगै आँखालाई २० देखि २४ पटक खोल्ने चिम्लिने गर्नुपर्छ ।
यसबाहेक प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ भने ब्लू कट चश्माको पनि प्रयोग गर्न सकिन्छ । मोतिविन्दु देखिएको भएमा डाक्टरको आवश्यक सल्लाहमा शल्यक्रिया गर्न सकिन्छ । अत्याधिक मोबाइल र कम्युटरको प्रयोगले बालबालिकामा दृष्टिदोष (मायोपिया) पनि बढेको पाईन्छ । त्यसैले बच्चालाई अत्यधिक मात्रामा मोबाइल र कम्युटरको प्रयोग गर्न दिनुहुँदैन ।
(डा. पञ्जीयार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ नेत्र रोग विशेषज्ञ हुनुहुन्छ ।)