मानसिक स्वास्थ्य एक व्यक्ति, परिवार र समाजका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। जीवनका विभिन्न परिस्थितिहरूले मानिसमा मानसिक समस्याहरू जन्माउन सक्छन्। मानसिक रोगलाई धेरैले रहस्यमय र अज्ञात रूपमा बुझ्ने गरेका छन्, तर यो पनि अन्य रोगजस्तै उपचार गर्न सकिने सामान्य अवस्था हो।
मानसिक स्वास्थ्यको आवश्यकता
मानसिक रोगीहरूसँग मैले लामो समयदेखि संगत गरिरहेको छु। यस क्रममा उनीहरूसँग जोडिएका स्मरणीय अनुभवहरू धेरै छन्, तर गोपनीयता उनीहरूको अधिकार भएकाले विस्तृत विवरण दिन उचित ठान्दिन । तथ्यांकअनुसार हरेक चारजनामा एकजना मनोरोगी हुन्छन्। हरेक मनोरोगका कारण र अनुभव फरक-फरक हुन्छन्। रोगको कारण पहिचान गर्न हामीले बिरामी र उनका आफन्तसँग कैयौं घण्टा र दिनसम्म अन्तरक्रिया गर्नुपर्ने हुन्छ।
आजको व्यस्त जीवनशैली, सामाजिक दबाब र व्यक्तिगत तनावले मानिसको मानसिक स्वास्थ्यलाई गम्भीर प्रभाव पारेको छ। धेरै मानिस मानसिक तनाव, चिन्ता, अवसाद जस्ता समस्याबाट गुज्रिरहेका छन्। यस्ता अवस्थाहरूले मानिसको शारीरिक, भावनात्मक र सामाजिक जीवनलाई असर पुर्याउँछ। मानसिक समस्या देखिनासाथ मनोपरामर्शदातासँग भेटघाट गरेमा रोगको जटिलता रोक्न सकिन्छ।
मानसिक रोगको प्रकृति
मानसिक रोग कुनै उमेर, लिङ्ग, वा वर्गले मात्रै सीमित छैन। यो बालकदेखि वृद्धसम्म, महिला होस् वा पुरुष, धनी होस् वा गरिब, सबैलाई लाग्न सक्छ। मनोरोग लागेपछि व्यक्तिको बोली, व्यवहार, आचरण, स्मरण शक्ति, र ध्यान केन्द्रित गर्न सक्ने क्षमतामा परिवर्तन आउँछ।
मनोरोगका कारण धेरै प्रकारका हुन्छन्। जस्तै:
- पारिवारिक समस्या: सासू–बुहारीको झगडा, कम उमेरमा विवाह।
- सामाजिक दबाब: विदेश रोजगारको तनाव, असफलता।
- आन्तरिक समस्या: अत्यधिक चिन्ता, यौन ज्ञानको अभाव।
- अनुभवजन्य पीडा: दुर्घटनाबाट उत्पन्न मानसिक तनाव।
मनोरोगका सामान्य लक्षण
मानसिक रोगको सुरुवात सामान्य लक्षणहरूसँग हुन्छ। यदि समयमै ध्यान दिइएन भने यी लक्षणहरूले जटिल रूप लिन सक्छन्:
- सधैं चिन्तित वा उदास महसुस गर्नु।
- ध्यान एकाग्र गर्न नसक्नु।
- निन्द्रामा गडबडी।
- हरेक कुरा मन पर्ने वा घृणा लाग्ने।
- अत्यधिक डर, निराशा वा उन्माद।
- दैनिकी सञ्चालन गर्न अप्ठ्यारो महसुस हुनु।
मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणाहरू
मानसिक रोगलाई धेरैजसोले अझै पनि भुत–प्रेत, धामीझाँक्री, जादुटुनाको परिणाम मान्ने गर्दछन्। त्यस्तै, “डाक्टरी औषधिले रोग झन् बिग्रिन्छ” भन्ने भ्रम, “मनोरोगी हिंसात्मक हुन्छन्” भन्ने धारणाहरू समाजमा व्याप्त छन्। यी सबै गलत बुझाइ हुन्। मनोरोग अन्य रोगजस्तै हो, जसको उपचार सम्भव छ।
मानसिक रोगबाट जोगिने उपाय
मानसिक रोगबाट बच्न जीवनशैलीमा सुधार र केही सावधानी अपनाउन सकिन्छ:
- स्वस्थ खानपिन र नियमित व्यायाम।
- तनाव व्यवस्थापनका लागि आफ्ना नजिकका व्यक्तिहरूसँग मनका कुरा साटासाट।
- रक्सी, चुरोट र अन्य लतजन्य पदार्थको सेवन नगर्नु।
- फुर्सदको समय सिर्जनात्मक कार्यमा लगाउनु।
- पर्याप्त निन्द्रा र स्वच्छ वातावरणमा समय बिताउनु।
उपचारका विधिहरू
मानसिक रोगको उपचार रोगका प्रकार र गम्भीरताअनुसार फरक हुन्छ:
- हल्का लक्षण भएमा मनोशिक्षा, काउन्सिलिङ।
- मध्यम र कडा लक्षण भएमा औषधि उपचार।
- मनोवैज्ञानिक थेरापी, जस्तै: साइकोथेरापी।
मानसिक स्वास्थ्यप्रति समाजको उत्तरदायित्व
समाजले मनोरोगीलाई सहानुभूति र सहयोगका साथ व्यवहार गर्नुपर्छ। मनोरोगीलाई “पागल” भन्ने वा अपहेलना गर्ने सोच हटाउन आवश्यक छ। परिवार र समुदायको सहयोगले बिरामीको उपचार प्रक्रिया सहज र प्रभावकारी बनाउन मद्दत गर्छ।
निष्कर्ष
मानसिक स्वास्थ्य हाम्रो समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। समयमै उचित परामर्श, उपचार, र समाजको सकारात्मक दृष्टिकोणले मनोरोगलाई परास्त गर्न सकिन्छ। “आफ्नो र आफ्ना प्रियजनको मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौं। मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई उत्तिकै महत्त्व दिऔं।”
(लेखक सरला थापा लमजुङ बेसिशहर नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता हुन् ।)