काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीषरत्न शाक्यले सुरुको सय फिट उचाइमा पुगेपछि जहाज तल खस्न थालेको र आफुहरुले नियन्त्रण गुमाएको बताएका छन् ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइ रहेका उनले सो कुरा बताएका छन् । बुधबार बिहान भएको जहाज दुर्घटनाका एक मात्र जीवित क्याप्टेन मनिष शाक्यका अनुसार, सय फिटमाथि पुगेपछि उड्नुको सट्टा जहाज तल खस्न थालेको थियो । ‘सुरुको सय फिट उचाइमा पुगेपछि जहाज तल खस्न थाल्यो । जहाजमा हामीले नियन्त्रण गुमायौँ,’ उनले भनेका छन् ।
घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनलाई हाल न्युरो आईसीयूमा राखिएको छ । उनी बोल्न सक्ने स्थितिमा छन् ।
उपचारमा संलग्न चिकित्सकहरूलाई उनले दुर्घटनाबारे बताएका हुन् । शाक्यका अनुसार, जहाज खसेपछि उनी थिचिएका थिए । सानो प्वालबाट आफैँ बाहिर निस्किने कोसिसमा रहेका क्याप्टेन शाक्यलाई उद्धारकर्मीले जहाजबाट निस्किन सघाएका थिए ।
विस्तृत् परीक्षणका लागि काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखरा उठेको जहाज केहीबेरमै खसेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
यसैबीच अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था समान्य रहेको बताएको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।