काठमाडौं । प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन मनाइँने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरेर मनाइँदैछ ।
वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । नागहरू १२ वटा भए तापनि आठ कूलका आठ वटा नागको पूजा गर्ने परम्परा रहीआएको छ ।
आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामा नाग टाँस्ने गरिन्छ । यसो गर्दा नाग, सर्प, विच्छी लगायतले दुःख नदिने र अग्नि, मेघ र चट्याङ आदिको भय नहुने धार्मिक विश्वास छ ।
नाग टाँसेपछि आज खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहीआएको छ ।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ ।