काठमाडौं । चितवन भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको रहेको पाइएको छ ।
प्रहरीका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ ।
काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।