काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरूङले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरू संविधान अनुसार संसदबाट विश्वासको मत लिने बताएका हुन्।
‘एउटै समीकरण भित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ। विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन,’ उनले भने, ‘राजीनामा स्वेच्छा हो। एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो।’ त्यो बाटोबाट गएको भए वर्तमान समीकरण भित्रका जोकोही पनि प्रधानमन्त्री बन्न सक्ने गुरूङले बताए।