काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राखेर अपव्याख्या गर्न नहुने बताएका छन्।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रलाई थप सुदृढ बनाउनेगरी संविधान संशोधन गरिने भएकाले यसमा शंका नगर्न समेत उनले उल्लेख गरे।
संविधानको भएको व्यवस्थाअनुसार संविधानको अभ्यासका क्रममा देखा परेका सबल र दुर्बल पक्षको समिक्षा गरेर संशोधन गरिने उनले बताए।
राजनीतिक स्थिरतासँगै विसंगति, विकृति नियन्त्रणका लागि देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको लेखकले बताए। कम्युनिस्ट र कांग्रेस मिल्दा ऐतिहासिक काम गर्न सफल भएको उनले बताए।