काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन एकताबद्ध भएपछि मात्र समाजवादको आधार तयार पार्न सकिने बताएका छन्।
शनिबार चितवनमा युद्धमा बेपत्ता दण्डपानी न्यौपानेको स्मृति भवन निर्माण सहयोगार्थ आयोजित वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले अब माओवादीबाट छुट्टिएकाहरू एकीकृत हुने दाबी गरे।
‘हामी एउटै स्कूल र मूल प्रवाहीकरणबाट आएका भंगालाहरू हौं। इतिहास र विज्ञानले पनि एउटै स्कूल र मूल र प्रवाहबाट जन्मिएका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि एकताबद्ध हुनुपर्छ र हुन्छन् भनेको छ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने।
उनले माओवादीहरू एक ठाउँमा उभिएपछि मात्रै समाजवादको आधार तयार पार्न सकिने बताए। विगतमा केही कमीकमजोरीका कारण माओवादी आन्दोलन केही कमजोर भएको भन्दै उनले अब सबै एकजुट भएर माओवादी आन्दोलन माथि उठाउनुपर्ने बताए।