काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई व्यक्तिगत चाहनाले नै पार्टीमा सक्रिय भएको प्रष्टीकरण दिएका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पुन पार्टीले राजनीतिमा सक्रिय गराएको नभई सकृय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी गराए । अन्य नेताहरूको कार्यविभाजन गर्दा पुनलाई पनि जिम्मेवारी दिइने उनले बताए ।
सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गरेका थिए । पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो ।
जवाफमा प्रचण्डले आफूले नबोलाएको र पूर्वराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन् । ‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भुमिकामा आउनु चाहन्छु भनिरहनुभयो,’ प्रचण्डले भने । केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए । तर प्रचण्डले ‘ आमन्त्रितकै रुपमा बोलाएको’ दाबी गरे ।