काठमाडौं । रोटरी क्लब अफ मातृभूमी बालुवाटारले बुधबार आफ्नो नवौं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शरेचनको प्रमुख आतिथ्य, काउन्सिल अफ गभर्नर, डिस्ट्रिक्ट अधिकारी, विभिन्न क्लबका आमन्त्रित अतिथि रोटरियन तथा क्लबका सदस्यहरुको उपस्थितिमा क्लबले नवौं पदस्थापन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा गएको रोटा वर्षमा प्रभावकारी रुपमा जिम्मेवारी बहन एवम् कार्यसम्पादन गर्ने बोर्ड मेम्बरहरुलाई निर्वतमान अध्यक्ष सुविद्या खनाल दाहालले धन्यवाद व्यक्त गरिन् भने नयाँ रोटा वर्षका अध्यक्ष राजु श्रेष्ठले क्लबको अध्यक्षको रुपमा जिम्मेवारी वहन गर्दै गर्दा गौरवको अनुभूति गरेको भन्दै रोटरीे इन्टरनेशनलको मर्मलाई आत्मसाथ गर्दे सामूहिकताका साथ आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका रोटा वर्ष २०२४÷२५ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरी इन्टरनेशनल अध्यक्ष र आफुले तय गरेको मर्म र लक्ष्यका बारेमा जानकारी गराउँदै आफ्ना कार्ययोजनाबारे बताएका थिए ।
क्लबमा रोटरीको विविधताको मर्म अनुरुप वित्तीय क्षेत्रसँग आवद्व व्यक्तित्वहरु, व्यवसायी, उद्यमी, शिक्षा, स्वास्थ्य लगायतका यावत क्षेत्रका व्यक्तित्वहरु सदस्यका रुपमा रहेका छन् ।
क्लबले ९ वर्षको दौरानमा समुदायको आर्थिक, सामाजिक रुपान्तरण एवं सशक्तिकरणका लागि विविध परियोजना सम्पन्न गरेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए ।
क्लबले नेपालको रोटरी अभियानमा एक गतिशिल एवं सशक्त क्लबका रुपमा उभ्याउन सफल भएको बताउँदै अध्यक्ष श्रेष्ठले क्लबले समाजमा परियोजनाको गुणात्मक प्रभावलाई मध्यनजर गर्दै विभिन्न परियोजनाको परिकल्पना गर्ने गरेको उल्लेख गरे ।
क्लबले रोटरीका प्राथमिकताका साथै क्षेत्रमा काम सानादेखि ठूला परियोजना सम्पन्न गरिरहेको छ । केहि परियोजना सम्पन्न भइसकेका छन्, त केही परियोजना चलिरहेका छन् त कोही योजनामा छन् ।
खानेपानी तथा सरसफाइ, आधारभूत शिक्षा तथा साक्षरता, स्वास्थ्य उपकरण हस्तान्तरण, विद्यालयमा कम्प्युटर, बालिका शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक सामग्री हस्तान्तरण, रक्तदान, जाडो याममा न्यानो लुगा वितरण लगायतका कार्यक्रम क्लबले गरेको छ ।
यसैगरी क्लबले भक्तपुरको धौखेलमा मातृभूमी फिजियो थेरापी सेन्टर स्थापना, सोहि ठाउँमा मकैको खोस्टावाट महिलाहरुलाई फुल, बुके लगायतका सामग्री बनाउने तालिम, सामुदाियक विद्यालयमा कम्युटर, बालिकामैत्री शौचालय, विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट, आवासिय विद्यालयमा भाडाकुँडा, विषादीयुक्त मल उत्पादन तथा प्रयोग सम्बन्धि तालिम, त्रिवि शिक्षण अस्पतालमा सिलिङ फयान, औषधी राख्ने ट्रे लगायतका सामाग्री प्रदान गरेको छ भने गत वर्ष नै क्लबले मानसिक स्वास्थ्यका लागि महानगरीय ट्राफिक प्रहरीसँग मिलेर साईकल र्याली जस्ता कार्यक्रम गरेको क्लबकी निर्वतमान अध्यक्ष सुविद्या खनाल दाहालले बताइन् ।
क्लबको नवौ पदस्थापन समारोहमा नयाँ तीन जना महिला सदस्यलाई शपथ खुवाउनुका साथै रोटरी पिन प्रदान गरिएको छ ।
थपिएका नयाँ सदस्यहरुमा हिमला गुरुङ, सजनी केशी र वसन्ती तामाङ रहेका छन् । थपिएका तीन सदस्यसहित क्लबको सदस्य संख्या ३४ पुगेको छ ।