काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्ण प्रजातन्त्र नेपाली जनताको सपनामा सीमित रहेको टिप्पणी गरेका छन्। ३०३औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा बिहीबार नेपालगन्जबाट देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले स्वतन्त्रता र आवधिक निर्वाचनलाई मात्रै प्रजातन्त्र मान्न नसकिने भन्दै असन्तुष्टि जनाएका छन्।
‘प्रजातन्त्र भनेको आममानिसको जीवन पद्धति हो। स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन,’ पूर्वराजाले भनेका छन्, ‘आमनागरिकको सुरक्षा, न्याय, गाँस, वास, कपास, शिक्षा र रोजगारी सुनिश्चितसहितको स्वतन्त्रतालाई मात्रै पूर्ण प्रजातन्त्र मान्न सक्दछौँ। यस दृष्टिले नेपालमा पूर्ण प्रजातन्त्र अझै आमनेपालीको सपनामा सीमित रहेको बुझ्नुपर्छ।’
नेपाल कसैको रणमैदान नभएको, तर अहिले सुनको कमण्डलु थापेर सहयोगको भिख माग्नुपरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। ‘हाम्रो सामर्थ, जनशक्ति निरन्तर बाहिरिँदै गएको छ। हामी सुनको कमण्डलु थापेर सहयोगको भिख माग्दै अरूलाई स्रोत र सिपको दुरुपयोग गरिरहेका छौँ,’ सन्देशमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, हामी सबैको शान्ति थलो बनाउनुपर्छ। हाम्रो साझा घर नेपाल हो र साझा थर नेपाली हो।’
पूर्वराजा ज्ञानेन्द्र अहिले नेपालगन्जमा छन्। अघिल्लो साता भारतको लखनउ पुगेर फर्केका उनले नेपालगन्जमा रेकर्ड गरिएको भिडियो सन्देश संवाद सचिव डा. फणीराज पाठकमार्फत सञ्चारमाध्यममा पठाएका हुन्। पूर्वराजाले भनेका छन्, ‘दुनियाँ जे विचारबाट राजी रहन्छ, आफ्नो धरातलले जे भन्छ, त्यसै आधारमा हाम्रो प्रजातान्त्रिक प्रणाली बढी लोकहितकारी बन्दछ।’
पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘वीरता, स्वाधीनता तथा गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ? सोचनीय छ।’ उनले दिन प्रतिदिन भूराजनीति जोखिमपूर्ण र जटिल बन्दै गएको भन्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश अहिले सान्दर्भिक भएको पनि बताएका छन्। ‘देश, देशको रक्षा, देश समृद्धिको सम्पूर्ण दर्शन दिव्योपदेशबाट लिन सकिने अवस्था हुँदाहुँदै परायाद्वारा सिर्जित वाद र विवादमा किन फसिरहेका छौँ, हामी सबैले आत्मसात गर्नुपर्छ,’ उनले भनेका छन्।