कस्तो गारो हुनेरहेछ
लिसो झै टाँस्सिका आँखा झार्न !
युगौँदेखि सुन्दर नारीको देहमा गाडिएका छन्
फरक-फरक निरंकुश आँखाहरू
आँखाको बजारमा–
एक्लै हिँडेकी छे एक सपना बुन्ने स्त्री
एकथरी आँखाले उसको शरीरलाई घुरी रहेछन् एकटक
अर्कोथरी आँखा–
रक्सीको नशाले लठ्ठीएझैँ डुबिरहेछन् नशाकै पोखरीमा
गिद्दकाझैँ तेजिला आँखाहरू
प्रत्येक अङ्ग चुसिरहेछन् जुकालेझैँ
उसको छाती
उसको नितम्ब
उसको कम्मर
उसको ओठ
उसको आँखा
उसको योनि
उप्काउन खोजिरहेकी छ उसले युगौँदेखि
ती यौन पिपासु आँखा
तर विस्तारै
थाहै नदिई ती आँखाहरूले
कति चाँडै चुसिसके छन् सर्वाङ्ग अस्तित्व
सदियौँ देखि –
दुनियाँका आँखा बोकेर हिँडिरहेकी छ स्त्री
गरिरहेकी छ उप्काउन अनेक प्रयास
तर पनि सकिरहेकी छैन नजरका तिरबाट बच्न
कहिलेसम्म टाँसिएर बस्ने होलान् ती आँखा ?
कसरी उप्केलान् ती आँखा जरै देखि ?
अहो !
कस्तो गारो पो हुँदोरहेछ
लिसो झै टाँस्सिका आँखा झार्न !
यसरी नछोएरै पनि प्रत्येक दिन लुटिइरहेका छ्न छोरीहरू
यस्ता आँखाहरू जब बजारमा देख्छु सल्बलाइरहेका
लाग्छ आँखाहरू थुतेर गुच्चा खेलिदिउँ