ललितपुर । रोटरी क्लब अफ पाटन वेष्टले ३१ जुलाइ बुधबार आफ्नो २९ औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शरेचनको प्रमुख आतिथ्य, काउन्सिल अफ गभर्नर, डिस्ट्रिक्ट अधिकारी, विभिन्न क्लबका आमन्त्रित अतिथि रोटरियन तथा क्लबका सदस्यहरुको उपस्थितिमा क्लबले कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा गएको रोटा वर्षमा प्रभावकारी रुपमा जिम्मेवारी बहन एवम् कार्यसम्पादन गर्ने बोर्ड मेम्बरहरुलाई निर्वतमान अध्यक्ष सुदिप कुमार बाँनियाले धन्यवाद व्यक्त गरे भने नयाँ रोटा वर्षका अध्यक्ष बिदुर तिमल्सिनाले क्लबको अध्यक्षको रुपमा जिम्मेवारी बहन गर्दै गर्दा गौरवको अनुभूति गरेको भन्दै रोटरीे इन्टरनेशनलको मर्मलाई आत्मसाथ गर्दे सामूहिकताका साथ आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका रोटा वर्ष २०२४/२५ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरी इन्टरनेशनल अध्यक्ष र आफुले तय गरेको मर्म र लक्ष्यका बारेमा जानकारी गराउँदै आफ्ना कार्ययोजनाबारे बताएका थिए ।
क्लबमा रोटरीको विविधताको मर्म अनुरुप वित्तीय क्षेत्रसँग आवद्व व्यक्तित्वहरु, व्यवसायी, उद्यमी, नेपाल सरकारका पूर्व उच्च पदस्थ कर्मचारी, शिक्षा, स्वास्थ्य, लगायतका यावत क्षेत्रका व्यक्तित्वहरु सदस्यका रुपमा रहेका छन् । क्लबले २९ वर्षको दौरानमा समुदायको आर्थिक, सामाजिक रुपान्तरण एवं सशक्तिकरणका लागि उल्लेखनीय परियोजना सम्पन्न गरेको छ ।
क्लबले नेपालको रोटरी अभियानमा एक गतिशिल एवं सशक्त क्लबका रुपमा उभ्याउन सफल भएको छ । विभिन्न समयमा क्लबले समाजमा परियोजनाको दीगोपनालाई मध्येनजर गर्दै विभिन्न परियोजना गर्ने गरेको छ ।
क्लबले रोटरीका प्राथमिकताका साथै क्षेत्रमा काम सानादेखि ठूला परियोजना सम्पन्न गरिरहेको छ । कोही सम्पन्न भइसकेका छन्, त कोही परियोजना चलिरहेका छन त कोही योजनामा छन् ।
खानेपानी तथा सरसफाइ, आधारभूत शिक्षा तथा साक्षरता, स्वास्थ्य उपकरण हस्तान्तरण, विद्यालयमा कम्प्युटर, बालिका शिक्षाका लागि छात्रवृत्ति,स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक सामग्री हस्तान्तरण, रक्तदान, जाडो याममा न्यानो लुगा वितरण लगायतका कार्यक्रम क्लबले गरेको छ ।
क्लबले रोटरी इनटरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको पहिलो डिस्ट्रिक्ट गभर्नर समेत दिएको छ । टिकामान वैद्य रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका प्रथम डिस्ट्रिक्ट गभर्नर रहेका थिए ।