काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच यससम्बन्धी सम्झौता भएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरे। सम्झौता कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताए।
उनले यातायातको सुविधा निःशुल्क रुपमा उपलब्ध गराउनसके मात्रै पनि धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे। उनले सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।
कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातमा स्वास्थ्य स्वयंसेवीहरुलाई निःशुल्क यातायात चढ्न दिँदा यातायात व्यवसायीहरुको शिर उँचो भएको बताए। उनले १२ खर्बभन्दा बढी लगानी भएको सार्वजनिक यातायातमा १५ लाख प्रत्यक्ष श्रमिकले रोजगार पाएको बताए।
कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरिका स्वास्थ्य स्वयंसेविकाका लागि आफ्नो जिल्लामा निःशुल्क यातायात चढ्न पाउने हुँदा खुशी लागेको बताइन्। उनले लामो समयपछि महिला स्वयंसेविकाहरुलाई बल्ल जग खनेर बसोवास शुरु भएको जस्तो महशुस भएको बताइन्।
उनले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले जीविकोपार्जन गर्नसक्ने वातावरण बनाइदिन मन्त्री पौडेलसँग आग्रह गरिन्। उनले महिला स्वयंसेविकालाई खटिएको दिनको २ हजार रुपैयाँ दिने व्यवस्था गर्न मन्त्री पौडेलसँग माग गरिन्।
स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायातको सेवा कात्तिक १५ गते शुरु हुनेछ। यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने उल्लेख छ।