काठमाडौं । लगातार ८२.०२ अंकको सुधार देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा भने ओरालोतिर लागेको छ। विजयादशमीअघिको अन्तिम कारोबार र बिदापछिको लगातार तीन कारोबार नै हरियाली भएको बजार अहिले घटेको हो।
विजयादशमीअघिको अन्तिम सेयर कारोबारमा गएको असोज २३ गते बुधबार ४.८५ अंकले बढेको थियो। विजयादशमीपछि पनि बजार लगातार हरियालीमा नै थियो। गएको असोज २९ गते मंगलबार ३१.४८ अंकले बढेको बजार ३० गते बुधबार ४३.२२ अंकले बढेको थियो। गएको साता अन्तिम कारोबारमा १ गते बिहीबार बजार २.४७ अंकले बढेको थियो।
यो साता पहिलो कारोबारमा आइतबार ४७.४४ अंकले घटेर बजार २६९७.९१ बिन्दुमा झरेको छ। १८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब १८ करोडको कारोबार भएको छ। आइतबार २ सय २६ कम्पनीको सेयर मूल्य घटेको छ।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो।