काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो।
अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उनको मृत्युको कारण खुल्न बाँकी छ। अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए।
हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत उनले यसअघि माउन्टेन टेलिभिजन, आजतक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यममा काम गरेका थिए।