काठमाडौं । सरकारले चितवन सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीका लागि चीनसँग सहयोग माग्ने तयारी गरेको छ ।
बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहसचिव एकनारायण अर्यालले सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् ।
सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत हुन बाँकी छ । ३५ जना अझै बेपत्ता छन् ।
गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको बताए । उनका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।
यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।
गत २८ असारमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको बस सिमलताल आएको पहिरोमा परेर त्रिशूली खसेका थिए ।