काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले त्रिविको नीति तथा कार्यक्रम सिनेटमा पेस गर्न नदिएको भन्दै संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ ।
सोमबार अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (समाजवादी) र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विरोधका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीको कदमले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप गर्ने पुरानै खेल दोहोरिएको आभाष भएको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘नयाँ पदाधिकारीहरुको नियुक्ति सँगै विश्वविद्यालय वसुधारको उत्कट चाहना बोकेका लाखौं विद्यार्थीहरु र समग्र जनताको मनोभावनामा यस कदमले गम्भीर तुषारापात गरेको छ।’
संयुक्त विद्यार्थी संगठनले साउन २२ गते देखि देशव्यापी रुपमा त्रिविका आंगिक क्याम्पसहरुमा संयुक्त विरोध व्यानर राख्ने, २३ गते त्रिवि पदाधिकारीसँग छलफल गर्ने घोषणा गरेको छ। यसैगरी, साउन २८ गते कीर्तिपुरमा संयुक्त अन्तरक्रिया गर्दै दोस्रो चरणका आन्दोलन घोषणा गर्ने जनाएको छ।