काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक-पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो ।
आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित कलङ्की तीनधारा क्षेत्रको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ ।
नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो । त्यहाँ छोटो समयमात्र कार्यालय सञ्चालन गरेको एमालेले पछि ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो । खोला किनारमै रहेको च्यासलस्थित कार्यालयमा यस वर्षको मनसुन अवधिमा चार पटकसम्म बाढी पसेको थियो ।