काठमाडौं । नेकपा एमालेको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको बताए।
बैठकका क्रममा सञ्चारकर्मीसँग उनले अधिकांश केन्द्रीय सदस्यले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताए।
उनका अनुसार पार्टीभित्रका कुनै पनि गुटबन्दीहरु पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधि भएको खण्डमा निगरानीमा राख्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएको बताए।
‘बैठकमा आज पनि पार्टी अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नै छलफलको क्रम जारी छ। अहिलेसम्म ५६ जना नेताहरुले आफ्नो राय राख्नुभएको छ। मूलतः सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहनु भएको छ‚’ उनले भने, ‘दोस्रो कुरा, पार्टीभित्रका कुनै पनि गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहीँ पनि गुटगत आशयका गतिविधिहरु भए भने त्यसलाई निगरानीमा राख्नुपर्छ। पार्टीमा विचारात्मक, सैद्धान्तिक कार्यक्रमको आधारमा कुनै पनि मतभिन्नता छैन।’
बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सुदृढीकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राखेको उनको भनाइ छ।