एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । उनी निमोनिया भएपछि १९ अगस्टमा एआईआईएमएस दिल्लीमा भर्ना भएका थिए ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ७२ वर्षकाे उमेरमा उनको निधन भएको हो । येचुरीको परिवारले उनको शरीर अल इन्डिया मेडिकल साइन्स दिल्लीलाई दान गर्ने जनाएको छ ।
उनी निमोनिया भएपछि १९ अगस्टमा एआईआईएमएस दिल्लीमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको बिहीबार दिउँसो निधन भएको हो । १० सेप्टेम्बरमा भारतीय कम्युनिस्ट पार्टीले वक्तव्य जारी गर्दै येचुरीको श्वास नलीमा गम्भीर संक्रमण भएको जानकारी दिएको थियो ।
सीपीआई मार्क्सवादीले वक्तव्य जारी गर्दै श्वास नलीमा गम्भीर संक्रमणका कारण येचुरीको निधन भएको जानकारी दिएको छ ।येचुरीले एआईआईएमएसमा भर्ना भएकै समयमा २२ अगस्टमा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टचार्यको निधनमा श्रद्धाञ्जली दिएका थिए । उनले २३ अगस्टमा सामाजिक सञ्जाल एक्समा जम्मु–कश्मिरमा सीपीएम, कांग्रेस र नेसनल कन्फ्रेन्सबीचको चुनावी गठबन्धनबारे पोस्ट गरेका थिए ।
येचुरीको निधनमा कांग्रेस नेता राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूलगायतले दुःख व्यक्त गरेका छन् ।